वनको २४ औँ वार्षिक साधारण सभा सम्पन्न
भदौ २१, मौलाकाली सामुदायिक वन उपभोक्ता समूहले आफ्नो २४ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। वन कार्यालयको परिसरमा आयोजित कार्यक्रममा सामुदायिक वनका गतिविधि, उपलब्धि तथा आगामी कार्ययोजनाका विषयमा छलफल गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि डिभिजन वन कार्यालय, नवलपुरका डिभिजनल वन अधिकृत विष्णुप्रसाद अधिकारी रहनुभएको थियो। उहाँले सामुदायिक वनको संरक्षण, संवर्द्धन तथा दिगो व्यवस्थापनमा उपभोक्ता समूहको महत्वपूर्ण भूमिका रहने बताउँदै वन संरक्षणका कार्यमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिनुभएको थियो।
साधारण सभामा सामुदायिक वनको विगतका गतिविधि तथा प्रगतिको समीक्षा गर्दै आगामी दिनमा सञ्चालन गरिने कार्यक्रम तथा योजनाका विषयमा छलफल गरिएको थियो। वन संरक्षणसँगै स्थानीय उपभोक्ताको हित, वातावरण संरक्षण तथा वन स्रोतको दिगो उपयोगलाई प्रभावकारी बनाउने विषयमा समेत जोड दिइएको थियो।
कार्यक्रममा सामुदायिक वनका पदाधिकारी, उपभोक्ता तथा सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले सामुदायिक वनको संरक्षण र विकासका लागि आपसी सहकार्य, सहभागिता र जिम्मेवारीलाई थप प्रभावकारी बनाउनुपर्ने धारणा व्यक्त गरेका थिए।
साधारण सभाले सामुदायिक वनको संरक्षण, व्यवस्थापन तथा उपभोक्तामैत्री कार्यक्रमलाई आगामी दिनमा थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

