भोटेकोशी बाढी प्रभावितका लागि मौलाकाली सामुदायिक वनद्वारा १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग
१७, भदौ, भोटेकोशी बाढीका कारण प्रभावित समुदायको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले मौलाकाली सामुदायिक वन उपभोक्ता समूहले १ लाख १ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको छ।
सामुदायिक वनले बुधबार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको हो। बाढीबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने तथा विपद्को समयमा मानवीय सहयोग पुर्याउने उद्देश्यले सामुदायिक वनले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको जनाएको छ।
मौलाकाली सामुदायिक वनका अध्यक्ष हरिप्रसाद सापकोटाका अनुसार विपद्को समयमा पीडित तथा प्रभावित नागरिकको साथमा उभिनु सबैको साझा दायित्व भएकाले राहत कोषमा सहयोग गरिएको हो।
सामुदायिक वनले प्राकृतिक स्रोतको संरक्षण र व्यवस्थापनसँगै सामाजिक तथा मानवीय कार्यमा समेत आफ्नो भूमिका निर्वाह गर्दै आएको अध्यक्ष सापकोटाले बताउनुभयो।
भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण जनधनमा क्षति पुगेपछि प्रभावित परिवारको राहत तथा पुनर्स्थापनाका लागि विभिन्न संघसंस्था, स्थानीय समुदाय तथा व्यक्तिहरूबाट सहयोग जुटिरहेको छ। मौलाकाली सामुदायिक वनको यो सहयोगले विपद्मा परेका नागरिकलाई राहत पुर्याउने अभियानमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।
