अवलोकन भ्रमण
गैंडाकोट, नवलपरासी (ब.सु.पू.) — मौलाकाली सामुदायिक वन उपभोक्ता समूहले सामुदायिक वन क्षेत्र तथा उपभोक्ताबाट उत्पादित जैविक स्रोतको सदुपयोग गर्दै जैविक मल उत्पादन गर्ने सम्भावनाको अध्ययन थालेको छ।
यसै क्रममा जैविक मल उत्पादनका लागि पूर्वअध्ययन तथा व्यावहारिक अनुभव हासिल गर्ने उद्देश्यले मौलाकाली सामुदायिक वनका सदस्यहरूले विनयी त्रिवेणी गाउँपालिका–दुम्कीबासमा रहेको विनयी सामुदायिक वनको अध्ययन तथा अवलोकन गरेका छन्।
आइतबार गरिएको अवलोकन भ्रमणका क्रममा मौलाकाली सामुदायिक वनका सदस्यहरूले विनयी सामुदायिक वनले सञ्चालन गर्दै आएको जैविक मल उत्पादनसम्बन्धी अभ्यास, प्रविधि तथा व्यवस्थापन प्रक्रियाबारे जानकारी लिएका थिए।
वन क्षेत्रमा उपलब्ध पातपतिङ्गर, झारपात तथा अन्य जैविक पदार्थलाई उचित व्यवस्थापन गरी मलका रूपमा प्रयोग गर्न सकिने भएकाले यस्तो अभ्यासले वन क्षेत्रको सरसफाइसँगै जैविक स्रोतको सदुपयोगमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।
अवलोकनका क्रममा जैविक मल उत्पादनका लागि आवश्यक कच्चा पदार्थ, उत्पादन प्रक्रिया, व्यवस्थापन विधि तथा सम्भावित उपयोगका विषयमा जानकारी आदानप्रदान गरिएको थियो। विनयी सामुदायिक वनको अनुभवबाट प्राप्त जानकारीलाई मौलाकाली सामुदायिक वनमा जैविक मल उत्पादनको सम्भाव्यता अध्ययन तथा आगामी योजना निर्माणमा उपयोग गर्ने उद्देश्य रहेको समूहले जनाएको छ।
मौलाकाली सामुदायिक वनले वन संरक्षण तथा व्यवस्थापनसँगै वनबाट प्राप्त जैविक स्रोतको दिगो सदुपयोग, वातावरण संरक्षण र उपभोक्ताको आयआर्जनसँग जोडिने कार्यक्रमलाई समेत प्राथमिकता दिँदै आएको छ।
यस प्रकारको अध्ययन तथा अनुभव आदानप्रदानले मौलाकाली सामुदायिक वनमा आगामी दिनमा स्थानीय स्रोतमा आधारित जैविक मल उत्पादन तथा वातावरणमैत्री व्यवस्थापन प्रणाली विकास गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

