यस समूहलाई ‘प्रकृति संरक्षण पुरस्कार २०८२ प्रदान
गैंडाकोट, नवलपरासी (ब.सु.पू.) — मौलाकाली सामुदायिक वन उपभोक्ता समूह, गैंडाकोट नगरपालिका–१ र २, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) लाई वन, वन्यजन्तु तथा वातावरण संरक्षणमा उल्लेखनीय योगदान पुर्याएको भन्दै ‘प्रकृति संरक्षण पुरस्कार २०८२’ प्रदान गरिएको छ।
श्री वन प्राविधिक समाज, चितवनले वन, वन्यजन्तु, वातावरण, जलाधार तथा जैविक विविधताको संरक्षण र व्यवस्थापनमा उल्लेखनीय कार्य गर्ने व्यक्ति, समूह तथा संघ–संस्थालाई प्रत्येक वर्ष प्रदान गर्दै आएको प्रकृति संरक्षण पुरस्कार अन्तर्गत यस वर्ष मौलाकाली सामुदायिक वन उपभोक्ता समूहलाई सम्मान गरिएको हो।
गैंडाकोट नगरपालिका–१ र २ मा अवस्थित मौलाकाली सामुदायिक वनले सामुदायिक वन व्यवस्थापनसँगै वन्यजन्तु संरक्षण, वातावरण संरक्षण, जैविक विविधता संरक्षण, सिमसार क्षेत्रको संरक्षण तथा घाँसेमैदान व्यवस्थापन लगायतका क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएको मूल्याङ्कनका आधारमा समूहलाई उक्त पुरस्कार प्रदान गरिएको प्रमाणपत्रमा उल्लेख छ।
पुरस्कारस्वरूप समूहलाई नगद रु. १७,५०० (सत्र हजार पाँच सय रुपैयाँ) सहित सम्मानपत्र प्रदान गरिएको हो। श्री वन प्राविधिक समाज, चितवनका तर्फबाट अध्यक्ष दुर्गाबहादुर आन्टी र गोकुलराज पाण्डेको हस्ताक्षरसहित मिति २०८२/०६/१८ मा उक्त प्रशंसा तथा सम्मानपत्र प्रदान गरिएको हो।
मौलाकाली सामुदायिक वन उपभोक्ता समूहले वन संरक्षण तथा व्यवस्थापनलाई मात्र नभई वनमा आश्रित वन्यजन्तुको संरक्षण, जैविक विविधताको प्रवर्द्धन, सिमसार तथा घाँसेमैदानको संरक्षण र वातावरणीय सन्तुलन कायम गर्न पुर्याएको योगदानले सामुदायिक वन व्यवस्थापनको क्षेत्रमा सकारात्मक उदाहरण प्रस्तुत गरेको छ।
पुरस्कार प्रदान गर्दै श्री वन प्राविधिक समाजले आगामी दिनमा समेत प्रकृति संरक्षणका क्षेत्रमा थप सृजनात्मक, अनुकरणीय तथा प्रभावकारी कार्य गर्न समूहबाट अपेक्षा गरेको जनाएको छ।
यस सम्मानले मौलाकाली सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी, कर्मचारी, उपभोक्ता तथा संरक्षणकर्मीहरूलाई वन तथा वातावरण संरक्षणका क्षेत्रमा अझ सक्रिय भएर काम गर्न थप उत्साह र प्रेरणा प्रदान गरेको छ।
मौलाकाली सामुदायिक वन उपभोक्ता समूह परिवारले यस महत्वपूर्ण सम्मानका लागि श्री वन प्राविधिक समाज, चितवनप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि वन, वन्यजन्तु, जैविक विविधता, सिमसार तथा वातावरण संरक्षणका क्षेत्रमा थप प्रभावकारी कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दछ।

